‘विद्युतीय रेल, ट्राम र ट्रली बस अबका सार्वजनिक यातायात हुनुपर्छ’

अब नेपाल विद्युतीय सवारीमा किन जानुपर्छ भन्ने विषयबारे त्यति धेरै बहस आवश्यक छैन । यसको महत्व, आवश्यकता र औचित्यबारे धेरैले बुझ्दै गएका छन् । नेपाल जस्तो वर्षमा अर्बौंको जीवाश्म इन्धन आयात गर्ने र त्यसमा पूर्ण परनिर्भर रहेको देशका लागि विद्युतीय सवारी कति महत्वपूर्ण छ भन्ने कुरा चर्चाको विषय नै होइन ।

अहिलेको अवस्थामा त आफ्नो देशमा उत्पादन हुने विद्युत् जति मूल्य पाए पनि बेच्छु भनेर ग्राहक खोज्नुपर्ने अवस्थाको देश हौं हामी । वातावरणीय हिसाबले पनि यो उत्तिकै महत्वपूर्ण छ । इन्धन आयात घटाएर हाम्रो व्यापार घाटा न्यूनीकरण गर्न पनि विद्युतीय सवारी ठूलो सहयोगी बन्न सक्छ । त्यसले अर्थतन्त्रलाई दिनसक्ने लाभ उत्तिकै महत्वपूर्ण छ ।

Advertisement

हामी जसरी पनि डिजल पेट्रोलको सवारीबाट विद्युतीय सवारीतिर जानैपर्छ, भविष्य नै त्यही हो । यो कुरा गरिराख्दा हामीले अहिले विद्युतीय भनेका सवारीबारे भने सोच्नुपर्छ । हामीले त ‘क्लिन इनर्जी’ उपयोग गरिरहेको भनेका छौं । हाम्रो जलविद्युत् क्लिन हो, तर विद्युतीय सवारी र बिजुली बीच ब्याट्री पनि छ । हामी ब्याट्रीमा आधारित विद्युतीय गाडी उपयोग गरिरहेका छौं ।

दीर्घकालमा हामीले ब्याट्री हटाउनुपर्छ । त्यसपछि हामी शतप्रतिशत क्लिन इनर्जीमा जान सक्छौं । त्यो भनेको हामी अब विद्युतीय रेल, ट्राम र ट्रली बसमा जान सक्नुपर्छ ।

त्यसको पूर्वाधार विकासका लागि हामीले काम गर्न थालिसकेका छौं । सार्वजनिक यातायात प्रणालीलाई सुधार गर्न हामीलाई भविष्यमा यस्ता प्रविधिका यातायातका साधन अपरिहार्य हुन्छन् । त्यस्ता साधनहरू विद्युतीय हुनेछन् र त्यसले देशको अर्थतन्त्रलाई मात्रै हैन, एकैपटक देशका धेरै नागरिकलाई सार्वजनिक सेवा दिनेछन् ।

त्यहाँ नगइन्जेलसम्म हामीसँग अरू उपाय छैन । हामी यो ब्याट्रीसँग सम्झौता गर्दै निजी मात्रै हैन, सार्वजनिक यातायातमा पनि विद्युतीय गाडीको प्रयोग बढाउन लाग्नुपर्छ ।

यसमा नेपाल सरकारले पनि विद्युतीय सवारीमा अरू सवारीको भन्दा करहरू कम गर्ने नीति लिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रयोग बढाउन बसहरू किन्ने निर्णय नै गरेर साझा यातायातलाई अनुदान सहयोग दिएका छौं । साझा यातायातले मात्रै हैन, सबै यातायात कम्पनीहरूलाई पनि यसमा आउने वातावरण बनाउने गरी सरकारले काम गरिरहेको छ ।

पूर्वाधारहरूको विकास पनि आधुनिक सवारी सञ्चालनलाई सहज हुने गरी हुँदैछ । सरकारले नीतिगत रूपमा गर्न सक्ने काम गरिरहेको छ । विस्तारित हुँदै सडक पूर्वाधारले पनि भविष्यमा सार्वजनिक यातायातलाई सबैको पहुँचमा पुर्याउने वातावरण तयार गर्दैछ ।

तर, हामीले केही चुनौतीमा विचार गर्नुपर्ने हुन्छ । हाम्रा स्थानीय वर्कशपलाई विद्युतीय सवारीलाई आधुनिक प्रविधि प्रयोग गरेर सर्भिस दिन सक्ने बनाउनु चुनौतीको विषय हो । हाम्रो मेकानिक्सहरू पेट्रोलियम सवारीको मर्मतमा पोख्त छन् । तिनलाई अब नयाँ काम सिकाउनुपर्छ । त्यसैले विद्युतीय सवारी सम्बद्ध जनशक्ति उत्पादन र विकासमा हाम्रो ध्यान जानुपर्छ ।

सम्बन्धित खवर

लोकप्रिय