‘मेरो बिजुली गाडीको खर्च : ७ वर्षमा ९३ हजार रुपैयाँ’

सरकारी सेवाबाट अलग भएपछि पाँच वर्ष जति म सार्वजनिक बसमा हिंडें । सार्वजनिक सवारीमा यात्रा गर्दाका आफ्नै समस्या र सीमा छन् ।

त्यसपछि गाडी किन्ने विचार बनाइयो । बैंकबाट ऋण लिएर गाडी किने पनि मर्मतसम्भार र तेल खर्चले गर्दा धान्न गाह्रो हुन्छ भन्ने थियो । मलाई थाहा थियो कि पेट्रोलबाट चल्ने कारको लागि दैनिक खर्च निकाल्नुपर्छ । इलेक्ट्रिक कारको लागि, मैले स्पेयर पार्टस् र लुब्रिकेन्टको बारेमा चिन्ता पनि लिनु नपर्ने थियो ।

Advertisement

पेट्रोल गाडी जसोतसो त किनिएला, सञ्चालन गर्न एकमुष्ट ठूलो रकम चाहिन्छ भन्ने निष्कर्षका आधारमा विद्युतीय गाडी लिने निर्णय गरें । ‘किया’ले त्यतिबेला पहिलो पटक विद्युतीय गाडी ल्याएको थियो । नेपालको आधिकारिक बिक्रेतालाई त्यो गाडी मगाइदिनुपर्यो भनें । धरौटी नलिई अर्डर लिनुभयो, तर १४ महिना कुराउनुभयो र डेलिभरी दिनुभयो ।

मैले विद्युतीय गाडी चढ्न थालेको ७ वर्ष भयो । ८औं वर्षमा गाडी चलिरहेको छ । यो गाडीको खर्च महिनामा ८/९ सय रुपैयाँ मात्रै हो । दुई तीनपटक पंचर टालेको खर्च भयो । एकपटक अघिल्लो भागको सानो ब्याट्री फेर्दा ९ हजार रुपैयाँ खर्च भयो । अहिलेसम्म ८४ महिनामा औसत महिनाको हजार रुपैयाँका दरले ८४ हजार र ब्याट्री फेरेको सहित हिसाब गर्दा करिब ९३ हजार खर्च भयो होला ।

विद्युतीय गाडी पेट्रोल डिजल भन्दा सुरक्षित पनि हुन्छ । ‘स्टेबल’ हुने भएकाले भनेको बेलामा ब्रेक लाग्छ र ह्यान्डलिङ सजिलो हुन्छ । तर, यसको समस्या भनेको टाढाको यात्रामा निस्कँदा चार्जर चाहिं बोकेरै हिंड्नुपर्यो । त्यसैले पनि म यो गाडी लिएर धेरै टाढा जान सकेको छैन । पोखरा, भरतपुर, गोरखा, चौतारा, धादिङबेंसीसम्म विद्युतीय गाडी लिएर पुगेको छु ।

नेपालमा विद्युतीय सवारी प्रवर्द्धनका लागि चार्जिङ पूर्वाधारको विकास नै गर्नुपर्ने थियो । निजी क्षेत्रले यसमा लगानी गर्न सकेन । टाटा र हुन्डाई बाहेकले खासै चार्जिङ सेवा विस्तार गरेका छैनन् । सरकारी तवरबाट नेपाल विद्युत् प्राधिकरणले अहिले अलि–अलि गर्दैछ ।

अहिले संसारमा ४ खालका चार्जिङ स्ट्यान्डर्ड छन् । टेस्ला कम्पनी सहित युरोप, जापान र चीनमा विकास भएका चार्जिङ स्ट्यान्डर्डमा नेपालले कुनलाई पछ्याउने र त्यस अनुसारको चार्जिङ पूर्वाधार बनाउने भन्नेबारे नीति बन्नुपथ्र्यो । अहिलेसम्म त्यस्तो नीति बनाइएको छैन ।

सम्बन्धित खवर

लोकप्रिय