१० महिनामा राजस्व संकलन गत वर्षभन्दा १ खर्बले कम

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा कुल राजस्व गत वर्षको सोही अवधिको भन्दा १ खर्बभन्दा बढीले घटेको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार १० महिनाको अवधिमा ७ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष सोही अवधिमा ८ खर्ब ६५ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । तथ्यांक अनुसार चालु आर्थिक वर्षमा गत वर्षको भन्दा पनि कम राजस्व उठेको छ । महालेखा नियन्त्रकका अनुसार गत वर्षको तुलनामा १ खर्ब ९ अर्ब ४४ करोड रुपैयाँ कम राजस्व संकलन भएको हो ।

Advertisement

यो वर्ष वैशाखसम्म संकलन भएको कुल राजस्व सरकारले लिएको लक्ष्यको तुलनामा ५३.९ प्रतिशत मात्रै हो । सरकारले यो वर्ष मात्रै १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । अब दुई महिनामा सरकारले लक्ष्य पुरा गर्ने हो भने ६ खर्ब ४६ अर्ब ८९ करोड राजस्व उठाउनु पर्ने हुन्छ ।

चालु आवको १० महिनाको अवधिमा आन्तरिक राजस्वतर्फ पनि गिरावट आएको छ । आन्तरिक राजस्व विभागका अनुसार वैशाख मसान्तसम्म ३ खर्ब ७१ अर्ब ५९ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ९८ प्रतिशत मात्र हो । सो आवमा ३ खर्ब ७८ अर्ब ३२ करोड रुपैयाँ आन्तरिक राजस्व उठेको थियो ।

यस वर्ष आन्तरिकतर्फ आयकरबाटै कम राजस्व उठेको छ । वैशाखसम्म १ खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ आयकर संकलन भएको छ । यो गत आवको तुलनामा ९२ प्रतिशत मात्र हो । गत आवको यसै अवधिमा १ खर्ब ७३ अर्ब ४० करोड रुपैयाँ राजस्व उठेको थियो ।

घरभाडा कर वैशाखसम्म २ अर्ब १६ करोड उठेको छ । गत आवमा यस्तो कर २ अर्ब २२ करोड उठेको थियो । ब्याजकरमा भने यस वर्ष राम्रो प्रगति देखिन्छ । ३० अर्ब २८ करोड ब्याजकर यस आवको १० महिनामा उठेको छ । गत आवमा यस्तो कर २२ अर्ब ४६ करोड मात्र उठेको थियो । मूल्य अभिवृद्धि कर समेत गत आवको तुलनामा कम उठेको छ । तथ्यांक अनुसार १० महिनामा मूअक ८८ अर्ब ६७ करोड संकलन भएको छ । गत वर्ष मूअक ९० अर्ब ६८ करोड उठेको थियो । अन्तःशूल्क भने गत वर्ष भन्दा बढी संकलन भएको छ । यस वर्ष अन्तःशूल्क ८४ अर्ब ११ करोड संकलन भएको छ । गत आवको यसै अवधिमा अन्तःशूल्क ८३ अर्ब ३३ करोड उठेको थियो ।

सम्बन्धित खवर

लोकप्रिय