हर्क साम्पाङ भर्सेस वडाध्यक्ष

संविधानले स्थानीय सरकारमा सत्ता र प्रतिपक्षको कल्पना गर्दैन । सबै निर्णय सहमतिमा हुन्छन् र सहमतिमै स्थानीय सरकार चल्छ भन्ने परिकल्पना गरेको छ । धरान उपमहानगरपालिकामा भने एक वर्षदेखि मेयर हर्क साम्पाङ र वडाध्यक्षहरूबीच विवाद चलिरहेको छ । यो विवाद यतिसम्म चर्किसक्यो कि मेयर साम्पाङका समर्थकहरूले १७ नम्बर वडाका वडाध्यक्ष मनोज भट्टराईलाई २७ वैशाखमा कालोमोसो दल्ने प्रयास समेत गरे ।

सामाजिक सञ्जालमा मेयर साम्पाङ र उनका समर्थकहरू वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूलाई ‘गुइँठे’ भन्दै हियाउँछन् । कार्यपालिका सदस्यहरू मेयर साम्पाङलाई ‘धकुले’ भन्दै जवाफ फर्काउँछन् । ‘गुइँठे’ र ‘धकुले’को यो विवादको सुरुवात भने २३ जेठ २०७९ को पहिलो कार्यपालिका बैठकबाटै सुरु भएको थियो ।

Advertisement

त्यो बैठकमा कार्यपालिका सदस्यहरूले उपमहानगरभित्रका खोलाबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गरेर ठेक्का लगाउनुपर्ने प्रस्ताव राखे । मेयर साम्पाङले असहमति मात्र जनाएनन्, उपमहानगरले नै उत्खनन गर्ने निर्णय गरिदिए । ‘ठेक्का त लाग्दै लाग्दैन, हामी आफैं उत्खनन गर्ने हो । आफ्नो विकास निर्माणको काममा आफ्नै खोलाको ढुंगा, गिट्टी प्रयोग गर्ने हो’ कार्यपालिका सदस्यको प्रस्ताव नकार्दै साम्पाङले भने, ‘ठेक्का त कुनै हालतमा लगाइँदैन ।’

यही बैठकबाट मेयर र वडाध्यक्षहरूबीच शीतयुद्ध सुरु भयो । ‘उहाँ (मेयर)ले हामीलाई खोला बेचुवा भन्न थाल्नुभयो’ वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराई सुनाउँछन्, ‘हामीलाई जसरी पनि नराम्रो देखाउन उहाँ लाग्नुभयो ।’

३० वैशाख २०७९ मा भएको स्थानीय चुनावबाट धरानको मेयर चुनिएका हर्क साम्पाङ स्वतन्त्र उम्मेदवार थिए भने वडाध्यक्ष र कार्यपालिका सदस्यहरू दलगत उम्मेदवार ।

पछिल्लो समय कार्यपालिका सदस्यहरूले कार्यपालिका बैठक बहिष्कार गर्ने र मेयरले कार्यपालिका सदस्यको राजीनामा माग्ने अवस्थासम्म आइपुगेको छ । ‘राजनीतिक दलबाट जितेर आएकाहरूले स्वतन्त्र भन्दै मेयरलाई कम आँके’ महेन्द्र बहुमुखी क्याम्पस, धरानका पूर्व सहप्राध्यापक डा. राजेन्द्र शर्मा सुनाउँछन्, ‘मेयर पनि के कम ! म त एक्लै पो जितेर आएको हुँ भन्दै लागे ।’

पहिलो कार्यपालिका बैठकमै बीजारोपण भएको विवादले १३ असोज २०७९ मा उग्र रूप लियो, जब पार्कको नाममा विवाद भयो । कार्यपालिका बैठकमा कार्यपालिका सदस्य देवान राईले धरान–१७ को सप्तरंगी पार्कको नाम मेयरले बदलेर ‘बहुसांस्कृतिक पार्क’ बनाएको भन्दै विरोध गरे।

सम्बन्धित खवर

लोकप्रिय