त्रिकोणात्मक टी-२० शृङ्खलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । तर रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ ।
बुधबार मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले मार्टिन कोट्जीको ८६ रनको मद्दतमा निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१२ रन बनाएको थियो ।
Advertisement
यससँगै उनी टी-२० आईमा सर्वाधिक रन बनाउने हङकङका ब्याटर बने । उनले १२१८ रन बनाएका छन् । यसअघि निजाकत खानले १२०६ रन बनाएका गिए ।
जवाफमा यूएईले २० ओभरमा ५ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।
मैदानमा उत्रिदा यूएईसामू आक्रमण क्रिकेट खेलेर जितको प्रयास गर्ने कि हार्दा पनि रन रेटमा माथि रहँदै फाइनलमा पुग्न चाहिने १३४ रन कटाउने विकल्प थियो । खेलपछि कप्तान मोहम्मद वासिम भन्छन्, सुरुमा हामीले जितका लागि खेलेका थियौं । तर जब दुई विकेट गुमायौं, प्लान बीमा गयौं ।’
यूएईको सुरुवात निकै खराब थियो । मात्र १९ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमायो । खालिद शाहले चौथो विकेटका लागि अलीशान शराफूसँग महत्वपूर्ण ५१ रनको साझेदारी गरे । खान ३५ रनमा आउट भए । थप ११ रन जोड्दा शराफू पनि ३० रनमा आउट भए । जतिबेला टिमको स्कोर ८१/५ थियो ।
तर बाजिल हमेद र निलांश केसवानीले छैटौं विकेटका लागि अविजित ६२ रनको साझेदारी गर्दै यूएईलाई फाइनलमा पुर्याए । १७ ओभरसम्म हङकङ खेलकै थियो, यूएईले १०९ रन बनाएको थियो र १८ बलमा २५ भन्दा कम रन दिएको भए फाइनलमा पुग्न सक्थ्यो । तर चार चौकाको मदतमा १४३ रन बनाउन सक्यो । र, ६९ रनको हारका बाबजुद रन रेटमा हङकङलाई उछिन्न सफल भयो ।
समूह चरणका चारमध्ये एकएक खेल जितेका दुबै टिमको समान २/२ अंक रहृयो, तर रन रेटका आधारमा रेटका आधारमा यूएई फाइनलमा पुगेको छ । अब समूह चरणको चार वटै खेल जितेर फाइनलमा पुगेको नेपालसँग पर्सि खेल्नेछ ।